Tuesday, January 8, 2013

बोरिसकी रानी

 राजकुमार बानियाँ प्रदीप बस्याल

टोनी हागन हाउसको पाँचौँ तलामा भेटिइन्, इङ्गर लिसानिभिच, ८४। हेयरब्यान्डले सेतो कपाल बाँधेकी तिनी ल्यापटपसामुन्ने थिइन्। उठेर अभिवादन गरिसक्दा ठ्याक्कै टेनिस कोर्टमा देखिने आफ्नै नातिनी अश्लेषाजस्ती। कुनै बेला 'रोयल होटलकी रानी' भनिने इङ्गरको एक्लो जीवन नै २७ वर्ष पुगिसकेछ।

Add caption
नेपालमा पहिलो होटल र पर्यटनको खाता खोल्ने बोरिस निकोलायभिच लिसानिभिचकी पत्नी हुन्, इङ्गर। जोसेफ कोन्राड र समरसेट ममका रचना पढेपछि तिनका रोमाञ्चकारी पात्र खोज्दै विश्वयात्रामा निस्केका अमेरिकी हेराल्ड स्टिफन्सले काठमाडौँको होटल याक एन्ड यतीमा सन् १९६१ मा भेटेका एक हिरो, बोरिस। स्टिफन्सले आफ्नो पुस्तक एसियन पोट्रेट्समा छुट्टी मनाउन युरोप गएकी इङ्गरलाई भेट्न नपाएको उल्लेख गरेका छन्। तिनै पात्रलाई भक्तपुरको गछेँ गल्लीमा भेट्यौँ हामीले।

'बोरिस अफ काठमाण्डू: अ किङ्डम अफ हिज ओन' शीर्षक पाठ पढ्दा बोरिस दन्त्यकथाका तिलस्मी पात्रजस्ता लाग्छन्। तिनकी पत्नीसामु कुन कुरा सोध्ने ? कुन कुरा नसोध्ने ? "म अन्तर्वार्ताभन्दा पनि कुरा मात्र गर्छु," इङ्गरले चस्मा खोल्दै भनिन्, "धेरै कुरा पुरानै छन्।" हल्का दमखोकीले सताइएकी इङ्गरको शीतल अनुहारमा थियो, बोरिसको सिंगो कथा।

४ अक्टोबर १९०५ मा काला सागरको ओडेस्सा (युक्रेन)मा जन्मेका हुन्, बोरिस। १२ वर्षको उमेरमा शाही नौका प्रतिष्ठानमा भर्ना पाए। सन् १९१७ मा रुसी क्रान्ति भइहाल्यो। बोल्सेभिकहरूले बन्चरो हानेर जार परिवारको हत्यागरिदिएपछि हजारौँ रुसीको भागाभाग भयो। बोरिस भाग्यमानी रहेछन्। उनले ब्याले कम्पनी ड्यागिलेभमा नर्तकको तालिम पाए। त्यो कम्पनी मोन्टेकार्लोतिर सरेपछि कहिल्यै रुस फर्केनन्।

१९ वर्षे उमेरमा बोरिस कहाँ पुगेनन् ? पेरिस, रोम, म्याडि्रड, बार्सिलोना। थुप्रै कवि, लेखक, कलाकार र संगीतज्ञसँग भेट भयो उनको। पिकासो, साल्भाडोर डाली, ड्युक्याम्प, चिरिको आदि कलाकारको रेखाचित्र कंसिगरका रूपमा मिल्किएको पनि देखे । दक्षिण अमेरिकाको फेरो मारे। युरोप फर्केपछि जारकालीन राहदानीले समस्या भयो। नयाँ राहदानी बनाउन स्थायी बसोबास चाहिन्थ्यो। त्यसैले ब्रिटिस राहदानीका लागि आइपुगेछन् कोलकाता।


भारतकै पहिलो नाइट क्लब खोले, क्लब ३००। त्यतिबेला लन्डनमा थियो, क्लब ४००। कोलकाता त्यसभन्दा सानो सहर भएकाले क्लब ३०० नाम राखेका रहेछन्। राजा त्रिभुवन उपचारका लागि धाइरहन्थे, कोलकाता। क्लब ३०० को माथिल्लो तलामा रहेको बोरसिको अपार्टमेन्टमा जाने अनि उनैसँग ब्याले नाच सिक्ने। प्रजातन्त्र बहालीका निम्ति संघर्षरत विद्रोही र राजाको भेटघाट पनि त्यहीँ हुन्थ्यो। यी भेटघाटलाई बोरिसले कति गोप्य राखे भने कसैले सुइँकोसमेत पाएनन्।

यसै मेसोमा राजा त्रिभुवनले विमान नै पठाएर बोरिस दम्पतीलाई काठमाडौँ निम्त्याए, नोभेम्बर १९५२ मा। २४ वर्षको उमेरमा दुई छोरासहित पहिलोपटक काठमाडौँ ओर्लंदा देखेको दृश्य झलझली सम्झिन्छन्, रूपवती इङ्गर। "हिमालको त्यति सुन्दर स्वरूप मैले त्यसअघि देखेकी थिइनँ," उनी भन्छिन्, "यहाँको हावा कोलकाताभन्दा कैयौँ गुणा बढी मादक थियो। काठमाडौँले कति मोहित पारिदियो भने १० दिनका लागि आएका हामी यतै बस्ने निधोमा पुग्यौँ।"

वास्तवमा नेपालले विदेशीका लागि ढोका खोलेको त्यही वर्ष हो। त्यस वर्ष नेपालमा सात जना विदेशी आएको रेकर्ड छ। बोरिस आउँदा यहाँ बाटोघाटो थिएनन्। काठमाडौँमा जम्मा १२ वटा कार थिए। त्यो पनि भरिया लगाएर ओसारिएका । बोरिस त्रिभुवनलाई पर्यटन विकासका निम्ति घचघच्याइरहन्थे, "काठमाडौँ पयर्टनका लागि सुन्दर ठाउँ हो।" राजा जिस्किँदा रहेछन्, "त्यसो भए किन कोही यहाँ आउँदैनन् ?"


त्रिभुवनलाई काठमाडौँ पर्यटकीय केन्द्र बन्ला भन्ने विश्वासै थिएन। उनी भनिरहन्थे, "को आउँछ नेपाल घुम्न ? के छ यहाँ हेर्नलायक ? प्रधानमन्त्री त कोलकाता जान्छन् र न्यु मार्केटमा दुई दिन घुमेर दिन बिताउँछन्।" "राजा सायद ठूल्ठूला सहरको रमझम, सपिङ् मल र गाडीका अगाडि काठमाडौँलाई फिका ठान्दा हुन्," इङ्गर भन्छिन्, "बोरिसचाहिँ अरूभन्दा १०/१५ वर्षअगाडि नै सपना देख्ने।"

बोरिसको दाउ थियो, कोलकाताको आफ्नो डिस्टिलरी नेपालमा सार्ने। त्यतिबेला नेपालीहरू रक्सी त पिउँथे तर बाबा आदमले स्वर्गमा स्याउ टोकेको बेलाको। इँटा र गोबरले बनेको अनि १८ फिटे दलिन भएको थोत्रो दरबारमा होटलको सपना देखे बोरिसले। कोलकातामा नामचिन नाइट क्लब चलाएका उनले रंगीन दुनियाँ बसालेको हेर्न चाहन्थे रसिक राजा आफैँ। त्यसैले बहादुरशमशेर जबराको स्वामित्वमा रहेको त्यो दरबार (अहिले निर्वाचन आयोग र उपराष्ट्रपतिको कार्यालय)मा होटल खोल्न मञ्जुरी नदिने प्रश्नै थिएन।

बहादुर भवनमा बोरिसको द रोयल होटल स्थापनालगत्तै नेपाल सरकारले सगरमाथा आरोहण पनि खुला गर्‍यो। विदेशी पत्रिकामा 'हटकेक' खबर बन्यो त्यो। १९५५ को एक बिहान बोरसिकहाँ प्रसिद्ध ब्रिटीस ट्राभल एजेन्सी थोमस कुकबाट कार्निया क्रुजमा विश्व भ्रमणमा निस्केको पर्यटकको तीन टोलीले दुई दिन नेपाल घुम्ने भिसा मिलाइदिन आग्रह गर्‍यो। त्यतिखेर भिसा दिने व्यवस्था नै थिएन। नेपालमा पहिलोपटक यसरी पर्यटक आएको विषयलाई लिएर अमेरिकी म्यागेजिन लाइफले लेख्यो, "पर्यटनको बेजोड प्रवाह अन्ततः दुर्गम देश नेपालमा पनि छिर्‍यो।" लाइफले यो पनि लेखिदियो, "नेपालमा सगरमाथापछिको दोस्रो आकर्षण हुन्, बोरिस।"

बोरिस र इङ्गरले चलाएको होटलमा एडमन्ड हिलारी र तेन्जिङ शेर्पाको आरोही टोली पाल टाँगेर बसेको रहेछ। यसरी आएका पर्यटकलाई राजा स्वयंले 'रिसेप्सन' दिएर स्वागत गरेछन्। रिसेप्सनकै दिन हस्तकला प्रदर्शनीमा राखिएका सामग्री हातहातै बिक्री भए। होटलको स्तरोन्नतिका लागि बोरिसले इङ्ल्यान्डबाट तीन लामा ल्यान्डरोभर गाडी ल्याए। पेरसि, म्युनिख, स्वीट्जरल्यान्ड, उत्तरी इटाली, म्याकेडोनिया, सलोनिका, कुर्दस, तेहरान, फटिमा, लाहोर, नयाँ दिल्ली, रक्सौल र त्रिभुवन राजपथ हुँदै काठमाडौँ। त्यसबेला विदेशीमाझ एउटा भनाइ निकै चर्चित थियो, "नेपाल गाडीमा पुग्नुभन्दा हिँडेर पुग्नु बढी आरामदायी हुन्छ।"

रोयल होटलका निम्ति कोलकातामा जमिसकेको व्यवसाय बन्द गर्‍यो, बोरिस दम्पतीले। सत्य भवनमा डिस्टिलरी खोल्यो। ४ सय ५० जति स-साना पसललाई विक्रेता नियुक्त गरे। गुणस्तर अनुसार मदिराका नाम थिए, गैँडा, बाघ र चितुवा। "परम्परागत मदिरा व्यवसायीले प्रहरीमा उजुरी गरे। र, हामी डिस्टिलरी बन्द गर्न विवश भयौँ," इङ्गर भन्छिन्, "एक महिनापछि कर कार्यालयबाट कर्मचारी आए र नानाथरी शीर्षकमा १ लाख ७५ हजार रुपियाँ कर र जरिवाना तिर्नुपर्ने देखाए। बोरसिले पैसा तिरेनन्, बरू साढे दुई महिना जेल बसे।"

कुनै युरोपेली त्यसरी जेल परेको त्यो पहिलो घटना थियो। "जेलको एउटा सानो कोठीमा अन्य १९ जना बन्दीसँग निकै कष्टले बसे," इङ्गर सम्झिन्छिन्, "बेलायती राजदूतले थाहा पाएर विरोध जनाएपछि कर कार्यालयको छुट्टै कोठामा सारिए। राजालाई माफीपत्र लेख्न पनि मानेनन्। त्यसबेला त्रिभुवन सिकिस्त भएर स्वीट्जरल्यान्डमा थिए।" लन्डनको टेलिग्राफ डेलीले रोयल होटलमा केही पुरातात्त्विक सामग्री राखेको भन्ने लेखिदिएपछि बोरसिले अरू तनाव झेले। होटल चलाउन ९९ वर्षका लागि बहादुरभवन लिजमा लिएको थियो, बोरिस दम्पतीले। बहादुरशमशेरले बीचैमा घर फिर्ता लिए र बेचे। उनीहरूले किन्न खोज्दा पनि पाएनन्। "हामीले रेस्टुराँ छाड्दा धेरै सेफ विदेशका राम्रा होटलमा गए। कतिले यहीँ व्यापार सुरु गरे," इङ्गर भन्छिन्, "हामीले केही समय लाल दरबारमा रेस्टुराँ चलायौँ। ट्राउट फार्मिङ् सुरु गर्‍यौँ। पहिलोपटक स्ट्रबेरी भित्र्यायौँ, बंगुरहरू ल्यायौँ।"

रोयल होटल सन् '६० को दशकमा ठूलो होटलका रूपमा परिचित भएको लेखेका छन्, स्टिफन्सले। बगैँचा र अजंगका रूखको बीचमा विशाल क्षेत्रफलमा रहेको होटल। स्टिफन्सले बोरिसलाई भेटेका रहेछन्, होटल याक एन्ड यतीको चिम्नी रेस्टुराँमा। कोठाको बीचमा वृत्ताकार अगेना थियो, वरिपरि कुर्सी। 'पूर्वब्याले डान्सर भन्न पनि नसुहाउने खालको भद्दा जीउ थियो उनको,' पुस्तकमा छ, 'बोरसिको कोठा हलिउडको सिने सजावटजस्तो थियो।'

१९७० सम्म चलेको रोयल होटल याक एन्ड यतीमा रूपान्तरति भयो। याक एन्ड यतीको नाम र लोगो रोजेकी हुन्, इङ्गरले। बेलायतमा यसरी 'एन्ड' जोडिएर थुप्रै नाम राखिने फेसन चलेको थियो रे! पछि विश्वासपात्रहरूले उनीहरूलाई धोका दिए। नेपालीमा लेखिएको कागजातमा हस्ताक्षर गर्न लगाएपछि त्यस होटलमा उनीहरूको स्वामित्व रहेन। बोरिस दम्पती बिचल्लीमा पर्‍यो। तिनै बोरिसको वीर अस्पतालमा दुःखदायी निधन भयो, १९८५ मा।। नेपाललाई विश्वसामु चिनाउने अनि बाहिरी विश्वका लागि ढोका खोलिदिने बोरिसको गुमनाम मृत्यु एउटा गहिरो अवसाद हो। केही समयअघि मात्र पर्यटन बोर्ड भृकुटीमण्डपमा राखिएको बोरसिको सालिक नै उनलाई सम्झने एउटा चिनो भएको छ।

बोरिस र इङ्गर नेपाल आएको ६० वर्ष भइसकेको छ। बोरिसले नेपाली नागरकिताका लागि प्रक्रिया बढाए पनि जीवित अवस्थामा पाएनन्। नेपाल र डेनमार्क दुवैले दोहोरो नागरकिता नदिने हुँदा इङ्गरसँग पनि नेपाली नागरकिता छैन। "बुढ्यौलीमा पनि मलाई अझै एग्रो भिलेज (कृषि गाउँ) स्थापना गर्ने रहर छ," यी चम्किली वृद्धा भन्छिन्, "काठमाडौँमा रेन हार्भेस्टिङ् (वर्षाको पानी संकलन)बारे पनि थुप्रै स्वाध्ययन गरेकी छु।"

इङ्गरको माइती देश हो, डेनमार्क। उनले लन्डन स्कुल अफ आर्टमा शिक्षादीक्षा पाइन्। उनको बान्की मर्लिन मुनरोभन्दा कम थिएन। आफैँलाई ऐनामा उभिएर एक्लै हेररिहूँजस्तो रूपलावण्य। यही रूपको बल्छीले तानेको रहेछ, बोरिसलाई। पहिलोपटक कोलकातामा बोरिसलाई भेट्दा उनी जम्मा १९ वर्षकी थिइन्। कोलकाता पस्ने सुन्दरीलाई पार्टीमा बोलाइहाल्ने चलन थियो त्यतिबेला। एउटी केटी साथीले क्लब ३०० मा पुर्‍याइहालिन्। "बोरिसले मसामु आएर नाच्न भने तर अरूका लागि," उनी सम्झन्छिन्, "कस्तो नमज्जा, एक ह्यान्डसम युवकका निम्ति अरूसँग नाच्नुपर्‍यो।" १९४७ को त्यो समारोहमा बोरिससँग पनि नाचिन् इङ्गर। त्यहीँ भयो, प्रेमको सुरुआत। आफूभन्दा २० वर्ष जेठा युवकसँगको सम्बन्ध उनका आमाका दोस्रा पतिले रुचाएनन्। "हामी एक वर्षसम्म भेटिरहन थाल्यौँ। बुबाले भिलेन खेल्न थालेपछि म दिक्क लागेर डेनमार्क फर्किएँ," उनी भन्छिन्, "पत्नीसँग अलग्गिसके पनि बोरिसले कानुनी रूपमा पारपाचुके गरिसकेका  थिएनन्।"

६ महिनापछि बोरिसले इङ्गरलाई कोलकाता ल्याए। १९४८ को अन्त्यतिर कोपनहेगनस्थित एक रसियन चर्चमा बिहे गर्ने उनीहरूको इच्छा पूरा भएन। किनभने, बोरिसलाई आफ्नी अघिल्ली पत्नी किराबाट डिभोर्सको पत्र हात परिसकेको थिएन। हल्यान्ड पुग्दा पनि त्यही समस्या भयो। अनि, कोलकाता नै फर्किए। "आमयुवतीजस्तै सुन्दर पहिरनमा सजिएर चर्चमा प्रतिष्ठित व्यक्ति तथा आफन्त भएको भव्य समारोहमै विवाह होस् भन्ने थियो," उनी भन्छिन्, "तर, बंगाली पहिरन लगाएर बंगाली शैलीमै हाम्रो विवाह भयो। रुनु न हाँस्नु!"

राजा महेन्द्रको राज्याभिषेकका बेला बोरिसले नौ दिन त आँखा झिमिक्कै गर्न पाएनन्। १ सय ९० जना अतिविशिष्ट पाहुना र एक सय विदेशी पत्रकार काठमाडौँ आएको समय। बोरिसले कोलकातामा आफूसँगै काम गरेका ५७ सेफ र १ सय ५० तालिमप्राप्त नोकरचाकर मात्र झिकाएनन्, सपिङ्का लागि हङ्कङ्सम्म पुगे र ४८ टन सपिङ् गरी पानीजहाजबाट कोलकाता हुँदै काठमाडौँ ल्याए। राज्याभिषेकको सम्पूर्ण क्याटरिङको जिम्मा पाएका थिए, बोरिसले। रौनक कति भने, काठमाडौँका बाटो फराकिला पारिए, गौचरण एयरपोर्ट मर्मत गरियो, मन्दिरहरू रंगाइए। जहाज चार्टर गरेर वाटर हिटर र बाथटबसहितका ३० बाथरुम सेट झिकाइयो। चार्टर्ड विमानमै भारतबाट ६ हजार जिउँदा कुखुरा, १ हजार तित्रा, दुई हजार हाँस, पाँच सय टर्की कुखुरा, सय किलो घिउ र केही टन चामल ल्याइयो।

बेलायती महारानी एलिजाबेथ द्वितीयालाई आफू र राजकुमार फिलिपका निम्ति बोरसिको खातिरदारी अहिले पनि चमत्कारिक लाग्छ। ३ सय ७६ वटा हात्तीको स्वागत अनि चितवनको मेघौलीमा कपडाद्वारा निर्मित भव्य अस्थायी सिकार शिविर। महारानी र राजकुमारका लागि बेग्लाबेग्लै बेडरुम, ड्रेसिङ् रुम अनि आधुनिक बाथरुम।

बीपी कोइरालासँग बोरिसको सम्बन्ध राम्रै थियो। इङ्गर भने सिर्फ एकपटक बाटोमा हिँड्दै गर्दा बीपीले दिएको लिफ्ट मात्र सम्झिन्छिन् । राजा वीरेन्द्र अध्ययनका लागि धेरै समय बाहिर बसेका कारण त्रिभुवन, महेन्द्रजति नजिक भएनन्। नेपालमा छँदा क्रिसमस पार्टीमा भने आउँथे रे!

फ्रेन्च लेखक माइकल पिसेलले बोरिस दम्पतीको काठमाडौँ वृत्तान्त नै लेखेका छन्, टाइगर फर ब्रेकफास्ट । सिकारका सोखिन थिए बोरिस। सिकार यात्रापछि उनको भान्सामा बाघ र गैँडाको मासुसमेत पाक्थ्यो। सिकारका बेला चितवनको जंगलमा सँगै हुन्थिन्, इङ्गर। सुन्दर जीवजन्तुलाई बन्दुक हान्दै घाइते बनाएको भने ज्यादै अपि्रय लाग्थ्यो उनलाई।

पेन्टिङ ट्रेकमा रमाइलो लाग्छ उनलाई। उनको आनन्दको स्रोत भनेकै पठन हो। अहिले चाहेर पनि राम्रोसँग पढ्न सक्दिनन्। पुस्तक पढ्दा लेन्स चाहिन्छ। "डेनमार्कमा सात वर्ष नपुगीकन स्कुल जान पाइँदैनथ्यो," उनी सुनाउँछिन्, "पढ्ने रहरले ६ वर्षमै स्कुल गएकी थिएँ।" इङ्गरका तीन छोरा छन्, मिखाइल, अलेक्जेन्डर र निकोलस। जेठा छोरा भारतको गोवामा रेस्टुराँ चलाएर बसिरहेका छन् भने कान्छा डेनमार्कमै। माइला छोरा भने नेपालीलाई नै बिहे गरेर टोखामा बसेका छन्। इङ्गरकै नातिनातिना हुन्, नेपाली टेनिसमा जमेका अश्लेषा र आइभन।

बोरिस बितेपछि इङ्गरको जीवन दुःखद रह्यो। टोखा र गोल्फुटारको डेरामा चोरी भयो। २००३ मा शरणार्थीजस्तो हालतमा भेटिएकी इङ्गरलाई आफ्नो घरमा राखेका छन्, संरक्षणकर्मी रवीन्द्र पुरीले। उनैले बोरसिको ठेचोस्थित जग्गा विवादमा अड्डा-अदालत गुहारिदिए । त्यसबाट उनलाई केही रकम पनि मिल्यो। रवीन्द्रसँग मिलेर इङ्गर बोरिस ग्रामको सपना देख्दै छिन् अहिले। तैपनि, उनलाई यिनै प्रश्नले घेरेजस्तो लाग्छ : किन काठमाडौँ ? के छ आकर्षण ?

***
इंगरको निधन १९ कात्तिक, २०७० मा भयो  । रविन्द्र पुरीसँगको कुराकानीमा तयार पारिएको सम्झना -- अलबिदा बोरिसकी रानी, पढ्न यहाँ क्लिक गर्नुहोस ।
***

Originally appeared at Nepal Magazine

No comments:

Post a Comment