Monday, December 5, 2011

महँगो सोख


पुराना गाडी चढ्ने सोखसँग समय, सन्दर्भ र इतिहास पनि गाँसिएका छन्


स्वयम्भूमान शाक्य, ६५, आफ्नो सोखले इतिहासको एउटा कालखण्डलाई जगेर्ना गर्न सकेकामा दंग छन्।उनले संकलन गरेका पुराना गाडीका आफ्नै कथा छन्। भन्छन्, "दुर्लभ र पुराना गाडीको संकलन मेरा लागि दिनहुँ विगत सम्झने माध्यम हो।" काठमाडौँको रैथाने परिवारमा जन्मेका शाक्यसँग अहिले अमेरिकामा बनेको झन्डै ८० वर्ष पुरानो फोर्ड र ६८ वर्ष पुरानो विलिज, इटालीमा बनेको ३७ वर्ष पुरानो अल्फारोमियो, फ्रान्समा बनेको ३६ वर्ष पुरानो किट्रन र जर्मनीमा बनेका झन्डै ३५ वर्ष पुराना दुइटा भक्सवागन बिटल कार छन्। भन्छन्, "फोर्ड र विलिज त नेपालमा बोकाएरै ल्याइएका कार हुन्।" यस्ता कतिपय गाडी अहिले बजारमा किन्नसमेत पाइँदैनन्। शाक्यजस्तै पुराना गाडीको संकलन गर्ने सोख भएकाहरू कमै होलान्। तर, पुराना गाडी चढ्ने सोख भएकाहरू भने काठमाडौँमा धेरै भेटिन्छन्। तिनैमध्येकी एक हुन् बारबरा एडम्स। उनले सन् १९६५ मा बनेको सनविम अल्पाइन ब्रान्डको गाडी चढ्छिन्। आधुनिकतामा रमाइरहेको सहरमा छिटोछिटो नयाँ ब्रान्डका गाडी भित्रिरहेका छन्। तर, त्यसको कुनै परवाह छैन, एडम्सलाई। भन्छिन्, "आफैँमा इतिहास बनेको गाडीमा चढ्नुको मज्जा आधुनिक गाडीहरूले दिन सक्दैनन्।" उनकै भनाइमा उनले चढ्ने गाडी नेपालमा आजसम्म एउटै मात्र छ। 


त्यसो त काठमाडौँमा पुराना गाडीका सोखिनको एउटा जमात नै तयार भइसकेको छ। उनीहरूकै भाषामा यो एउटा छुट्टै अनुभूति हो। भक्सवागनकै बिटल चढ्ने कफी भेन्डिङ् मेसिनका वितरक रेज इन्टरनेसनलका निर्देशक सुवोधदास श्रेष्ठ, ३३, भन्छन्, "पुरानो गाडीसँग जोडिएको प्रेमबाट अलग नै हुन सकिएन।" सन् २००३ मा भारतबाट व्यवस्थापनमा स्नातक सकेर आएलगत्तै सस्तो गाडी चढ्ने रहरले नै उनले बिटल किनेका थिए, १ लाख १० हजारमा। "पछि कमाएपछि नयाँ कुनै राम्रो र नयाँ गाडी किन्छु भन्ने सोचेको थिएँ," श्रेष्ठ सम्झन्छन्, "तर, अचेल त मलाई अरू कुनै गाडीमा आँखै लाग्दैन।" भक्सवागनको विशेषता यसको नवीनता र साधारणपन ठान्छन् यसका अनुभवीहरू। यसको भित्री बनोट झकिझकाउ छैन। झट्ट हेर्दा साधारण सिट र स्टेरङि् मात्र भित्रपट्टी देखिन्छन्। तर, श्रेष्ठलाई यही विशेषता नै गजब लाग्छ। भन्छन्, "तपाईंलाई मन पर्ने तरिकाको सिट राख्न सक्नुहुन्छ यसमा।" 



भक्सवागन चलाउन भने सबैलाई सहज हुँदैन। पुरानो गाडी, कहिलेकाहीँ बाटोमै बिग्रन सक्छ। धकेल्नुपर्ने हुनसक्छ। तर पनि भक्सवागन चढ्नेहरू सितिमिति गाडी फेर्दैनन्। बरु धकेल्ने बानी बसाल्छन्। मेकानिक सीप सिक्छन्। श्रेष्ठ भन्छन्, "छोराछोरी हुर्काएजस्तै हो यो चढ्नु। छोराछोरीको कहिले के आवश्यकता पूरा गर्नुपर्छ कहिले के, थाहै हुँदैन र जति ठूलो भयो उत्तिकै माया लाग्छ। त्यस्तै हो।" २ करोड १५ लाखभन्दा बढीको संख्यामा उत्पादन भए तापनि यो कारसमेत अहिले विश्वभर दुर्लभ मानिन्छ। हिटलरको पालामा सबै जनतालाई सस्तोमा कार चढ्न दिने उद्देश्यले बनेको भक्सवागन कारको लाखौँको संख्यामा उत्पादन गरएिको थियो। हालसम्मकै कम्पनीहरूमध्ये एउटै मोडलमा सबैभन्दा बढी कार उत्पादन गर्ने रेकर्ड राखेको भक्सवागनले त यस मोडलको कारको उत्पादन सन् २००३ देखि नै बन्द गर्‍यो। तर, यसका सोखिनहरू विश्वमा मात्र होइन, नेपालमा पनि छन्।



एसोसिएसन अफ नेपाल बिटल युजर ग्रुप (एनबग) यस्तै गाडी चढ्नेहरूको एउटा समूह हो। जसको सदस्य हुनका लागि कम्तीमा पनि आफ्नो निजी भक्सवागन हुनुपर्छ। संगठित रूपमा पुराना गाडीलाई विस्थापित गर्ने सरकारको द्विविधापूर्ण नीतिको विरोधस्वरूप यसको स्थापना गरिएको हो। एनबगका महासचिव सुबोधदास श्रेष्ठ भन्छन्, "यस कारको विशिष्ठताले गर्दा नेपालमा मात्र होइन, विश्वभर धेरै मुलुकमा भक्सवागन क्लब छन्।" हालसालै पत्रकार कनकमणि दीक्षितले समेत स्पाइनल इन्ज्युरी सोसाइटीको मेरुदण्डको उपचार  गरिने अस्पताल निर्माणार्थ रकम जुटाउन बिटलमै चढेर भारत र पाकिस्तानको लाहोरसम्म यात्रा गरेका थिए। 
नेपालमा पहिलो भक्सवागन चढ्ने व्यक्ति कर्णेल घनशमशेर हुन्। सन् १९५७ मा उनले उक्त कार नेपाल भित्र्याएका थिए। सन् १९६२ मा जीवन मल्लको पहलमा भक्सवागनले नेपालमा आपmनै बिक्री केन्द्र स्थापना गर्‍यो। र, त्यो अधिकार दुगड समूहलाई हस्तान्तरण गरयिो। तर, त्यसबेला नेपालमा धेरै भक्सवागन कारहरू आउनुमा सिल्क रुट हुँदै आउने हिप्पीहरूको ठूलो योगदान छ। उनीहरूले र्फकने बेलामा काठमाडौँमै सस्तोमा त्यस्ता गाडी बेचेर जान्थे। "हुन त त्यसबेला दुईतले (डबल डेकर) बसहरू पनि नआएका होइनन् तर काठमाडौँको बाटो सुहाउँदो भएन भन्दै सरकारले बेच्ने अनुमति नदिएपछि उनीहरूले साना गाडीहरू मात्र बेचे," काठमाडौँको झोँछेमा त्यतिबेलादेखि व्यापार गर्दै आएका हिमालयन गेस्ट हाउसका सञ्चालक मोहनकृष्ण मुलापति भन्छन्, "हाम्रा दाजुहरूले धेरै राम्रा गाडीहरू सस्तोमा किनेर गाडीको व्यापार गर्नुहुन्थ्यो।" मुलापतिका अनुसार नेपाल त्यसबेला बाहिरी विश्वसँग राम्ररी नजिकिएको थिएन तर तिनै हिप्पीका कारण पनि त्यसबेला विश्वमा चलेका राम्रा कारहरू नेपाल आइसकेका थिए। 


शाक्यसँग पुराना गाडीहरूको संकलन गर्दाका रोचक अनुभव छन्। विश्वभर निकै दुर्लभ मानिने विलिज कार केही वर्षअघि उनले ७५ हजार रुपियाँ खर्चेर किनेका थिए। उनीसँग यो कार भएको खबर बेलायतसम्म पुगेछ। भन्छन्, "१० लाख रुपियाँ दिन्छु भनेर एउटाले फोन गर्दै थियो।" फोर्ड त शाक्यले १४ वर्षअघि नै ४० हजार रुपियाँ खर्चेर किनेका थिए भने अल्फारोमियोसमेत १ लाख ४० हजार रुपियाँमा। भन्छन्, "मैले तिरेका ती रकम त कबाडीका मूल्य मात्र हुन्। तर, यिनको मूल्य बढ्दै जान्छ।" 


केन्द्रविक्रम शाहलाई छुटाउने हो भने नेपालमा पुराना गाडीको इतिहास नै अधुरो हुन्छ। जसले अहिले पुराना चारवटा फोर्ड कम्पनीका गाडी स्याहारेर राखेका छन्। तीमध्येकै एक हो, १९३१ मा बनेको फोर्ड। जसलाई उनले उतिबेला मात्रै ४० हजार रुपियाँ तिरेर किनेका थिए। जसको अहिले वाषिर्क कर मात्रै ४० हजार पर्छ। छोराको बिहेमा उनले यही गाडी प्रयोग गरेका थिए। 


शाक्यका जस्तै अनुभवहरू छन् वाईपी लोहनीसँग। लोहनीका घरमा आउनेहरूले सन् १९१९ र १९३६ मा बनेका बेलायतको अस्टिन कम्पनीका दुईवटा गाडी हेर्दा अचम्म नमान्ने कोही छैनन्। लोहनी भन्छन्, "समयान्तरले यी दुवै गाडीलाई इतिहास बनाइदियो, जो आधुनिक गाडी चढेर हिँड्नेहरूका लागि कथाजस्तो लाग्नु स्वाभाविक हो।" सन् १९८० काठमाडौँमा भएको क्लासिक गाडीको यात्रामा उनको १९१९ मा बनेको अस्टिनले पनि भाग लिएर 'ओल्डेस्ट कार इन दी टाउन' उपाधि पाएको थियो। र्‍याली सम्झँदै लोहनी भन्छन्, "मेरो गाडी चक्रपथ घुमाउँदा धेरै मान्छेले आँखाको डिल च्यातेर एकोहोरो हेररिहेका थिए।" अस्टिन आफैँमा अनौठो गाडी हो। किनभने, यसको अगाडिको भागमा पेट्रोल ट्यांकी छ। ह्यान्डल घुमाएर स्टार्ट गर्नुपर्छ। चार गियर मात्रै भएको यो गाडी चलाउन जोकोहीले सक्दैन। हावाको चाप र पेट्रोलको प्रवाहबीच सन्तुलन मिलाएपछि मात्रै गाडी कुद्छ। होइन भने, धूवाँ मात्रै फाल्छ कि बन्द भइहाल्छ। 


त्यस्तो समय थियो, जतिखेर गाडीमा साइडलाइट हुँदैनथ्यो। अस्टिनमा पनि छैन। अनौठो त के छ भने यो गाडीका अधिकांश कब्जाहरू पित्तलबाट बनेका छन्। गाडी पहिलेकै स्वरूपमा बनाएर सहरमा खुरुरु कुदाउने मन त लोहनीसँग नभएको कहाँ हो र ? तर, त्यति सजिलो छैन यो सपना पूरा गर्नु। भन्छन्, "काठमाडौँमा यो गाडीका सामान नै पाइँदैनन्। भारतमा लगेर बनाउनुपर्छ।" उनले सुनेका छन्, दिल्लीतिर यस्ता गाडी मर्मत गर्ने ठाउँ भएको। लोहनीलाई पनि पुराना गाडी बेच्ने सल्लाह धेरैले दिएका थिए। कतिले त आफैँ किन्ने दाउसमेत राखेका थिए। तर, उनी बेच्न चाहँदैनन्। भन्छन्, "एउटाले त मित्सुबिसीको पजेरोसँग साटौँ भनेको थियो तर मैले मानिनँ।"


पुरानो गाडी चढेर सहर चहार्ने एडम्ससँग पनि कैयन् यस्ता अनुभव छन्। भन्छिन्, "नेपाल भित्रिँदा मेरो कपाल रातो थियो र सनविम अल्पाइन ब्रान्डको गाडी सेतो। अहिले मेरा कपाल सेतै भइसकेका छन् र गाडी सेतै छ।" उनको गाडी देखेर धेरैले प्रशंसा गर्छन्। भन्छिन्, "ऐतिहासिक गाडी चढ्नुको मज्जा बेग्लै हुन्छ। तर, यो बिगि्रयो भने मर्मत गर्न उत्तिकै सास्ती खेप्नुपर्छ।" एडम्सले यस गाडीलाई पुरानै स्वरूपमा राख्नका निम्ति धेरैपटक विदेशबाट पाटपुर्जाहरू मगाइसकेकी छन्। बा७च १७६० नम्बरको यो गाडी अहिले पनि बारबराका निम्ति उत्तिकै पि्रय छ। भन्छिन्, "यो गाडी काठमाडौँका कैयन् परविर्तनहरूको साक्षी पनि हो।" 


यस्तै परविर्तनको साक्षी सागरशमशेर राणाको आँगनमा पनि छ। सन् १९६० तिर सागरशमशेरका बाबु मृगेन्द्रशमशेरले जर्मनीबाट किनेर ल्याएको ल्यान्डरोभर हेर्दा त्यति आकर्षक भने छैन। सागरशमशेर भन्छन्, "गाडी देख्यो कि पुराना दिन याद आउँछन्।" उनले यही गाडीमा बीपी कोइरालालाई राखेर ०३३ सालमा टँुडिखेलमा भएको आमसभामा पुर्‍याएका थिए। त्यति मात्र होइन, उनी बीपी, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई यही गाडीमा राखेर चुनावी क्षेत्रमा पुर्‍याउँथे। जनमतसंग्रहताका पनि उनले यही गाडीमा नेतात्रयलाई हालेर गोरखा र धादिङ पुर्‍याएका थिए। बा१च १४१ नम्बरको यस गाडीले कैयन् उतारचढाव देखेको छ। त्यही भएर सागरशमशेरले यसलाई बेच्न सकेका छैनन्। भन्छन्, "चार चुनाव खाइसकेको यस गाडीलाई अलिकति खर्च गरेर बनाउन सके चल्थ्यो कि!" 


पुराना गाडीका सोखिनमध्येकै एक हुन्, प्रभुराम राजभण्डारी। उनी आफ्ना दुईवटा दुर्लभ कारलाई यतिखेर ग्यारेजमा मर्मत गराउँदै छन्। सन् १९२६ मा बनेको फोर्ड कार केही वर्षअघि उनले दुई लाख रुपियाँमा किनेका थिए। त्यही कार अहिले थप दुई लाख खर्चंदै ग्यारेजमा बनाउन दिएका छन्। दैनिक प्रयोगका लागि भने उनीसँग सन् १९७३ मा बनेको भक्सवागन नै छ। यो कार उनले नेपाल स्काउटका प्रथम प्रमुख रविशमशेरसँग ८० हजार रुपियाँमा किनेका थिए। उनलाई यस्तो गाडी चढ्दाको सबैभन्दा आनन्द त्यसबेला आउँछ, जतिखेर मानिसहरूले रोकेर योसँग फोटो खिच्न मरहित्ते गर्छन्। भन्छन्, "धेरैपटक ठमेलमा पर्यटकहरूले फोटो खिच्न रोक्दा बाटो नै जाम भएको छ।" उनीसँग भएको झन्डै ८७ वर्ष पुरानो फोर्डको भने गाडी नम्बर नै कति हो, थाहा पाउन सकेका छैनन् राजभण्डारीले। तर, कहिलेकाहीँ विशेष समारोह हुँदा छोटो दूरीका लागि सरकारसँग अनुमति लिएर चलाउने सोचेका छन् उनले। 


विसं ०२६ यता आफ्नो निजी ग्यारेज रक्तकाली अटोमोबाइल्स चलाएका रवीन्द्र वनमाली, ६५, सँग नेपालका धेरै पुराना र दुर्लभ गाडी मर्मत गरेको अनुभव छ। विसं १९५५ मा बनेको फोर्ड कार मर्मतका लागि एक जना जर्नेल धेरैअघि उनीकहाँ आएका थिए। अहिले वनमालीले इड्याशमशेर जबराको सन् १९६२ मा बनेको ल्यान्डरोभर बनाइराखेका छन्। मर्मतका लागि आएको फ्रान्समा निर्मित एउटा प्युजँ कार देखाउँदै उनी भन्छन्, "मेरा छोराछोरीले मात्र होइन, नातिनातिनाले समेत चढ्नुपर्छ भन्ने त यसको विज्ञापनमै छ।" 


पुराना गाडी चढ्ने सोखसँग समय, सन्दर्भ र इतिहास पनि गाँसिएका छन्। नेपालजस्तो देशमा यो सोख अलिकति अनौठो लाग्न सक्छ। तर पनि यसले इतिहासको संरक्षण भने गर्छ नै।

पहिलो दमकल : मोरिस कार  


विसं १९९० को महाभूकम्पपछि बल्ल नेपालमा दमकलको आवश्यकता महसुस गरियो र बेलायतबाट एउटा मोरिस कार झिकाइयो। जुद्धशमशेरको पालामा भारतबाट पाटपुर्जा बोकाएर ल्याइएको उक्त कारमा पानी ट्यांकी थिएन तर त्यसको इन्जिनले पानी भने तान्थ्यो। त्यसैले तत्कालीन पानी अड्डा (पछि खानेपानी संस्थान)ले त्यसको इन्जिनबाट पानी तानेर आगो निभाउने काम गथ्र्यो। त्यसबेला पानीको त्यति अभाव नभएका कारण ट्यांकीको अभाव पनि खड्किएन। 

कानुनले समस्या

पुराना गाडीका सोखिनलाई एउटा पिरलोले सधैँ सताएको छ। त्यो हो, राज्यले लगाउने चर्को कर। पुराना गाडीलाई विस्थापित गर्ने नीति अनुसार सरकारले २० वर्ष नाघेका गाडीमा दुई सय प्रतिशतसम्म कर लगाएको छ। अझै त्यसमा बर्सेनि पाँच प्रतिशतले थपिँदै जान्छ। "यो सार्वजनिक र निजी गाडीलाई एउटै आँखाबाट हेर्ने सरकारी तरिकाको दोष हो," स्वयम्भूमान शाक्य भन्छन्। त्यसबाहेक नयाँ गाडीको बिक्री बढाउनका लागि सरकारमाथि व्यापारीहरूले दबाब दिइराखेको आरोप पनि लगाउँछन्, पुराना गाडीका पारखीहरू। बारबरा एडम्सलाई पनि यही कुरामा दुःख लागेको छ। भन्छिन्, "बेलायतमा पुराना गाडीलाई राष्ट्रिय सम्पदाका रूपमा हेर्ने चलन छ तर यहाँ ठीक त्यसको उल्टो। युरोपका कतिपय देशमा आफूले किनेको रकम बराबर कर तिर्ने गाडीहरूलाई सरकारले सम्पदाका रूपमा राख्ने गर्छ र वाहकले चाहेमा त्यसको मर्मतसम्भारका लागि उल्टै पैसा दिन्छ।" 

इतिहासमा गाडी 

साइकलसमेत अनौठो ठान्ने काठमाडौँको समाज हात घुमाएको भरमा धूवाँ फाल्दै कुद्ने मोटर देख्दा चकित पर्नु अनौठो थिएन। त्यसो त वीरशमशेरको पालामा पहिलोपटक साइकल चढ्दासमेत मानिसहरू अनौठो मानेर हेर्थे। नेपालमै पहिलोपटक गाडी गेहेन्द्रशमशेरले झिकाएका हुन्। उनले फोर्ड कम्पनीको गाडी झिकाएका थिए। गेहेन्द्रले गाडी ल्याएको सुइँको कसैलाई दिएका थिएनन्। आधुनिक र विलासी गाडीहरूको उत्पादन र प्रयोग गर्न अभ्यस्त अहिलेका धेरैलाई गेहेन्द्रले झिकाएको गाडीको कुरा सुन्दा कथाजस्तो लाग्न सक्छ। 



उक्त गाडीमा अगाडिपछाडि बल्ने बत्तीसम्म थिएनन्। गेहेन्द्रले गाडीमा अगाडिपट्टीको भागमा चाँदीको डन्डा हालेर ग्यासबाट बत्ती बल्ने व्यवस्था मिलाएका थिए। इन्द्रजात्राका दिन पारेर गेहेन्द्रले आफ्ना कालीगढ दसनारायणलाई हाँक्न लगाएर उक्त गाडी दरबार पुर्‍याएका थिए। बग्गीमा इन्द्रजात्राका लागि सवारी गर्न निस्कनै लागेका बेला महाराज वीरशमशेरले सोधे, "क्या हो यो ?" गेहेन्द्रले भने, "सरकार मोटर भनेको यही हो। हजुर सवारी होस्!" त्यसपछि वीरशमशेरले पहिलोपटक दरबारभित्रै गाडीमा एक फन्को लगाए र गाडी लिएर सहरमा निस्के। गाडी लिएर वीरशमशेर महाराजाधिराजको दरबारमा पुगेपछि राजा पृथ्वीवीरविक्रम पनि अचम्ममा परेका थिए। पछि पृथ्वीवीरविक्रमले उक्त गाडी आफैले चढ्न मागेपछि वीरशमशेरले राजालाई गाडी उपहार दिएका थिए। 


वीरशमशेरको पालापछि काठमाडौँमा विस्तारै गाडी भित्रिन थाले। दरबारबाहिरका मानिसको क्रय क्षमता भए पनि गाडी भित्र्याउने अनुमति थिएन। चन्द्रशमशेरको पालामा अलिक धेरै गाडीहरू भित्रिए। मेरा जिजुबा फिल्ड मार्सल रुद्रशमशेरले सन् १९६५ मा बेलायत जाँदा ड्यामलर ब्रान्डको गाडी किनेर नेपाल ल्याउनुभएको थियो। सन् १९९० सम्म पनि त्यो गाडी मेरो ग्यारेजमै थियो। अनौठो थियो त्यो गाडी। चालक बस्नेतिर झ्याल नै थिएन। बाहिरपट्ट गाडीको ब्रेक थियो। प्वालबाट हात छिराएर हाते ब्रेकले गाडी रोक्नुपथ्र्यो। पछि जिजुबाले एड्लर ब्रान्डको मोटर किन्नुभयो। अलिक पछि त दरबारभित्रका धेरैले आफैले गाडी किनेका थिए। ड्यामलर, एडलर, हिलम्यान, टुरङि् हडसन, हडसन, सेब्रोले जस्ता गाडीहरू काठमाडौँ सहरमा यदाकदा कुद्न थाले। 


महाराजाहरू गाडीमा सहर सवारी हुँदा रमाइलो दृश्य देखिन्थ्यो। मान्छेहरू महाराजलाई र गाडी दुवैलाई अनौठो मानेर हेर्थे। आठपहरियाहरु महाराजको सुरक्षामा गाडीसँगसँगै दौडन्थे। गाडी विस्तारै मात्रै गुड्ने भएकाले दौडन पनि सम्भव थियो। उकालो आउनेबित्तिकै आठपहरियाहरुले पछाडिबाट गाडी ठेल्थे। गाडीको छतमा भने हजुरियाहरु बन्दुक बोकेर बसेका हुन्थे। २००७ सालपछि भने काठमाडौँमा दरबारबाहिरका मान्छेले पनि सहज रूपमा गाडी चलाउन थाले।


(पुरुषोत्तमशमशेर जबरासँगको कुराकानीमा आधारति)


No comments:

Post a Comment

Followers