Tuesday, December 14, 2010

Few SUCCESS STORIES of child clubs in Nawalparasi



बाल क्लबमार्फत पाएको प्रतिष्ठा
(बाल सचेतना समूह, प्रतापपुरका संस्थापक अध्यक्ष मुन्नामियाँ सिद्धिकी आफैमा एउटा बाल क्लबको सफलताको कथा हुन)

मुन्नामियाँ सिद्धिकी नवलपरासीमा बाल क्लबको प्रशंगमा भुल्नै नहुने नाम हो । उहाँ नवलपरासी जिल्लाको मात्र नभएर नेपालकै थोरै पुराना बाल क्लबका अगुवामध्येका एक हुनुहुन्छ । नवलपरासी जिल्लाको तराई भेगको प्रतापपुर गाविसमा पर्ने बाल सचेतना समूह वहाँले २०५३ सालमै स्थापना गरेको बाल समूह हो । “जग बलियो भयो भने घर पनि बलियो हुन्छ” भनेझैं वहाँले बलियो जगमा स्थापना गरेको क्लब अझै शसक्त र सकृय छ । प्रतापपुरमा बाल सचेतना समूहलाई सबैले विशेष महत्व दिएर हेर्छन् । क्लबको प्रभावकारी कामको प्रशंसा स्वरुप साधारण सभामा जिल्लाका  सदरमुकामबाट समेत उच्च अधिकारीहरु त्यहाँ पुग्छन् । मुन्ना अहिले विजया विकास स्रोत केन्द्र अन्तर्गत तराई भेगका गाविसका सामाजिक सहजकर्ताहरुलाई सहयोग एवं अनुगमन गर्ने बरिष्ठ सामाजिक सहजकर्ताको रुपमा काम गर्नुहुन्छ । यद्यपि बाल क्लबसँगको वहाँको सामिप्यता अझै घटेको छैन । त्यसैले क्लबले वहाँलाई निर्देशकको जिम्मेवारी दिएको छ ।  हामीले वहाँसँग कुराकानी गरेर बाल क्लब र बाल अधिकारको क्षेत्रमा लागेका बालबालिकाको लागि प्रेरणा हुने गरी वहाँको सफलताको कथा तयार पारेका छौं ।



जतिखेर मुन्ना मियाँले बाल क्लबको स्थापना गर्नुभयो त्यसबेलाको समय अहिलेको भन्दा धेरै भिन्न थियो । अहिले जस्तो बाल अधिकारका कुरा त निकै बिरलै हुन्थ्यो भने अर्कोतर्फ बालबालिकालाई समाजको जिम्मेवार अंगको रुपमा पनि हेरिँदैन्थ्यो । केटा र केटी भनेर भेदभाव पनि खुबै गरिन्थ्यो । यही मुद्दालाई लिएर “बाल अधिकार सबैको सरोकार” र “छोराछोरीमा भेदभाव नगरौं” भन्दै बाल सचेतना समूह यसैगरी स्थापना भएको थियो । शुरुमा ११ जनाबाट स्थापना गरिएको यस बाल क्लबमा अहिलै हजार बढि त सदस्यहरु नै छन् र कार्यकारणी समितिको चयन पनि निकै प्रतिस्पर्धात्मक ढंगबाट हुनेगर्छ ।
मुन्नाले बाल समूह स्थापना गर्दा नवलपरासीमा औंलामा गन्न सकिने बाल क्लबहरु मात्र थिए तर अहिले सयौंका सङ्ख्यामा बाल क्लबहरु पुगी सकेका छन् । “तर”, मुन्ना भन्नुहुन्छ, “धेरै भए भन्दैमा खुसी भइहाल्न पनि सकिँदैन । बाल क्लबहरु कत्तिको सकृय छन् भन्ने कुराले महत्व राख्छ ।” वहाँ थप्नुहुन्छ, “पहिले पहिले बालबालिकाहरु आफै सकृय भएर बाल क्लबहरु खोल्थे र त्यो दिगो हुन्थ्यो तर आजकल कहिँकतै फेसनकै रुपमा पनि बाल क्लबहरु खुलेका छन् ।” जसको अर्थ वहाँले सरकारी, गैरसरकारी संस्थाको पहलमा बाल क्लब खोलिनु हुँदैन भन्न खोजिएको भने होइन । तर बाल क्लबहरु स्थापना गर्दा निश्चित उद्देश्यहरु राखेर र त्यसमा प्रतिबद्ध भएर खोल्नु आवश्यक छ ।

मुन्नाका अनुसार बाल क्लबबाट बाल अधिकार संरक्षणका कुरासँगै बालबालिकाले व्यक्तित्व विकास गर्ने काममा पनि सदुपयोग गर्नुपर्ने सुझाउँछन् । उनी स्वयं त्यसका उदहारण हुन् । गाउँघरमा उनलाई सबैले कुशल वक्ताको रुपमा हेर्छन, सानाठूला बहस, छलफल र विवाद पर्दा उनको भूमिकाको अपेक्षा गर्छन् । वहाँ भन्नुहुन्छ, “सायद बाल क्लब नहुँदो हो त ममा यस्ता गुणहरु सायदै विकास हुन्थ्यो होला ।” बाल क्लबका पूर्व एवं अनुकरणीय अगुवाको रुपमा वहाँलाई बाल समूह जिल्ला समन्वय समितिको तेस्रो जिल्ला भेलाले सम्मान पनि गरेको थियो । जिल्ला बाल कल्याण समितिबाट प्रशिक्षक, प्रशिक्षण तालिम लिएर वहाँले बाल क्लब र बाल अधिकारसँग सम्बन्धित धेरै त्यस्ता कार्यक्रमहरुमा वहाँले सहजकर्ता र प्रशिक्षकको भूमिका समेत निर्वाह गर्नुभएको छ । रेडियो परासीमा समेत बजार प्रतिनिधि एवं स्थानिय संवाददाताको रुपमा वहाँको भूमिका छ । आजभोलि कहिलेकाहीँ आफ्नो विगतलाई पछाडि फर्केर हेर्दा मुन्नालाई लाग्नेगर्छ, “बाल क्लब नहूँदो हो त मेरो जीवनले आज कस्तो मोड लिंदो हो ?” भन्नुहुन्छ, “पैसा धेरैथोरै कमाउनु आफ्नो ठाउँमा होला, तर मैले त्यही बाल क्लबले गर्दा गाउँ समाजमा इज्जत कमाएको छु ।” बाल क्लबले एउटा असल नागरिक बनाउन सकेकोमा उनी गर्व गर्छन् ।

वचत गर्ने बानी

बाल विकास बाल समूह, नरम

सोमबार ल्हापे, नरमका बाल बालिकाको काम सूचि अन्य दिनको भन्दा केही फरक हुन्छ । विहानको भाले बास्दा नबास्दै बाल क्लबमा बचत गर्न जान हतारिन्छन् यहाँका बालबालिकाहरु । बाल विकास बाल समूहले गर्ने गरेको वचत अभियानले गर्दा त्यसो भएको हो जसबाट हालसम्म जम्मा भएको पैसा र सोको ब्याजबाटै झण्डै १ लाख रुपयाँ संकलन भइसकेको छ । अझ रोचक कुरा त बालबालिकाले जम्मा पारेको आफ्नो थोरैथोरै रकम अभिभावकहरुको लागि आपतविपत पर्दा ऋण सहयोग स्वरुप पनि काम लाग्नेगर्छ ।
बाल विकास बाल समूहका सल्लाहकार एवं पूर्व अध्यक्ष श्रीप्रसाद गुरुङ्गका अनुसार गाउँ सरसफाई, रचनात्मक र सांस्कृतिक कार्यक्रमहरुमा समेत त्यस्तो वचतको केही हिस्सा खर्च हुने गरेको छ । वचत गर्ने बालबालिकाहरु चाहीँ शिशु अवस्थादेखि १८ बर्षमुनिका हुन्छन् । बालबालिकाको यस्तो उत्साह देखेर आजकल अभिभावकहरु नै वच्चा जन्मेको केही दिनमै वचत खाता खोल्न आउँछन् । 

बच्चाले नजान्दै वचत गर्ने बानी बसाल्ने हो भने पछि ऊ आफ्नो नाममा पैसाा वचत भइराखेको थाह पाई स्वयं वचत गर्न तम्सियोस भनेर वालक्लबको पहलमा यसरी अभिभावकहरु सानैमा वचत खाता खोलिदिन्छन् । त्यसो गर्नाले बालबालिकाहरु कुलतजस्ता नराम्रा काममा लाग्दै नलाग्ने ठान्छन् बाल विकास बाल समूहका सदस्यहरु । गाउँमा बाल क्लबको इज्जत र महत्व पनि बाल क्लबको यस्तो कामले ह्वात्तै बढाएको छ । आपतमा अन्त ऋण नपाउँदा वा पैसाकै अभावमा विदेश जान नपाउँदा धेरै बाल क्लबलाई गुहारेका छन् । जस्तो अवस्थामा उनीहरुले २० हजारसम्म रकम सहयोग गर्नेगरेका छन् । जसले गर्दा पाइने ब्याजले क्लबको कोष बर्षेनी बढ्दो पनि छ । गाउँमा आपतकालिन सुस्केरी सामाग्री र सुत्केरीलाई स्वास्थ्यचौकीसम्म ओसार्ने स्टेचरको व्यवस्था पनि क्लबले सोही कोषबाट गरेको छ । त्यसैले कहिलेकाहीँ आफूले आपतमा सहयोग गरेको भन्दै त्यस्ता व्यक्तिहरुले तिर्नुपर्ने भन्दा बढ्तै पैसा समेत फिर्ता दिने गरेका छन् ।

विहानी कक्षा र सरसफाईमा अभियानले ल्याएको परिवर्तन

शिवशक्ति बाल समूह र नमूना बाल समूह

नवलपरासी जिल्लाको दुर्गम पहाडी गाबिस रुचाङको शिवशक्ति बाल क्लबका बालबालिकाहरुले शुरुवात गरेको विहानी कक्षो बिद्यालयमा परिणत भयो । भौगोलिक बिकटताका दृष्टिले निकै दुर्गम मानिने रुचाङ ९, दशरथ डाँडामा २ बर्ष अघि बाल क्लबका अघुवा  सदस्यहरुले स्कुल जान नसक्ने ससाना बालबालिकाहरुलाई विहानमा पढाउने कार्यको थालनी गरेका थिए ।  “यहाँबाट नजिकको प्राथमिक बिद्यालय जान पहाडको कठिन बाटो घन्टौं लगाएर जानुपथ्र्यो । जुन कुरा ससाना भाइबहिनीहरुलाई असम्भव हुने हुँदा हामीले बिहानी कक्षा संचालन गरेका थियौ ।”–क्लबका सदस्य रन बहादुर सारुले बताए । शुरुमा स्कुल भहुँदा १७ घर मगर परिवार रहेको उक्त बस्तीमा शुरुमा ३६ बालबालिकाहरु पढ्नबाट बंचित थिए । अहिले बिद्यालय बनेपछी दशरथ डाँडाका धेरै बालबालिकाले पढ्ने अवसर पाएका छन् ।

बिहानी कक्षा संचालन गरिराखेता पनि त्यसले बालबालिकाको कक्षा बढ्ने बैधालिकता नपाउने समस्या एकातर्फ थियो भने अर्कोतर्फ ठूला दाजुहरु आफ्नो कक्षा नियमित रुपमा समयमै भेट्न सकिरहेका थिएनन् । त्यसले त्यहाँका स्थानीय अभिभावक एवं राजनीतिक कार्यकर्तासँगको अन्तरक्रिया राखेर उनीहरुले आफ्ना समस्या पोखे । “हामी कसरी दशरथ डाँडाका बालबालिकालाई पढ्ने वातावरण बनाउने भनेर निकैबेर छलफल ग¥यौं ।”–क्लबका संस्थापक अध्यक्ष गुन बहादुर खण्डलुकले बताए । “त्यसबाट त्यहीँको छिमेकी बिद्यालय बालकल्याण प्राबिबाट एकजना शिक्षक माग्ने निर्णय गरियो ।”– उनले थपे । त्यसैगरी बालकल्याण प्राबिकै शाखा बिद्यालयको रुपमा उक्त बिहानी कक्षालाई पनि लागे निश्कर्ष निकाले । अहिले यहाँ बाल क्लब र स्थानीय जनताको सहयोगमा त्यहाँ सानो पक्की भवन पनि निर्माण भएको छ । पहिले सानो गोठमा पढाई हुने बिहानी कक्षा अहिले ४ कोठे भवन सहिलतको बिद्यालयमा परिणत भएको छ । हाल त्यहाँ बिकेन्द्रीक्रित बाल कक्षाको कोटा पनि परेपछी त २ जना निजी स्रोतका शिक्षक र १ जना सरकारी गरी ३ जना भएका छन् । “यहाँ अझै शिक्षकको अभाव छ, बाल कल्याण प्राबिमा पहिल्यै देखि शिक्षक कम रहेकोमा अहिले १ जना यता आएपछी उता अप्ठ्यारो परिरहेको छ । ”– स्थानीय सामाजिक कार्यकर्ता भीमबहादुर रानाले भने । बिद्यालयमा अझै पनि प्रयाप्त फर्निचर सुविधा पुगेको छैन । चर्पी र खानेपानीको अभाव छ ।

उता नमूना बाल समूह पनि रुचाङ्गकै माथिल्लो कुवाकोटमा पर्छ जुन गाबिसकै पनि सबैभन्दा विकट भेग हो । मगरबासीहरुको बढि बसोबास रहेको यहाँ अशिक्षाले राम्रैसँग जरा पनि गाडेको छ । मानिसहरुमा शिक्षा, स्वास्थ्य जस्ता कुरामा त्यती धेरै सचेत छैनन् । जसले गर्दा स्थानिय बाल क्लबका सदस्यहरुको अग्रसर भए ।

उनीहरुले गरेको एउटा महत्वपूर्ण काम गाउँटोल नै फोहोरो हुनेगरी बुंगुर छाडा तरिकाले पाल्ने नराम्रो बानी त्यहाँबाट हटाउनु थियो । जसले गर्दा सरुवा तथा अन्य नराम्रो रोगहरुको संक्रमण बढ्न सक्थ्यो जसलाई बाल क्लबले आफूले केही गर्नुपर्ने ठान्यो । स्थानिय बुढापाकाहरुलाई छलफलका लागि धेरैपटक बोलाएपछि मात्र बुढापाकाहरु आइपुगे । उनीहरुसँग बाल क्लबका सदस्यहरु छलफल मात्र गरेनन् केकस्ता रोगहरु कसरी फैलन सक्छन् भनेर समेत बताएर र सुंगुर थुन्नको लागि छुट्टै खोर बनाउनुपर्ने बताए । र, त्यसमा अभिभावकहरुलाई बाल क्लबका सदस्यहरुले समेत सहयोग पुर्याउने बताएपछि अहिले छाडा त छोडिँदैनन नै बुँगुरको खोर समेत घरबाट निकै पर पाल्ने गरिन्छ ।

बालक्लबले गरेको उद्दार

न्यू स्टार बाल समूह, माकर

नवलपरासी जिल्लाको माकर गाबिसमा पर्ने न्यू स्टार बाल समूह (अहिले नाम फेरिएर नव सकृय बाल समूह भएको छ) त्यहाँका स्थानिय महिला समूह ‘श्री दाउन्नेदेवि महिला वचत तथा ऋण सहकारी संस्था’ र बाल समूह जिल्ला समन्वय समितिको पहलमा २०६१ सालमा खुलेको बाल समूह हो । यसले बाल अधिकार प्रबद्र्धन र बाल सहभागिताको क्षेत्रमा धेरै राम्रा कामहरु गरेको छ । तर पनि यसले गरेको एउटा कामले यो बाल क्लब जिल्लामा नमूना क्लबहरु मध्येमा पर्नेगर्छ । नवलपरासीमा बाल क्लबले गरेका राम्रा कामहरुको कुरा उठ्दा धेरैले यस क्लबले गरेको एउटी बालिका उद्दारको प्रशंग पनि जोड्ने गर्छन् ।
२०६१ साल चैत्र १४ गतेको कुरा हो यो । जतिखेर बाल क्लबको बैठक सकेर अध्यक्ष नारायण विक, सचिव सन्तोष गुरुङ्ग, कोषाध्यक्ष मिलन पुन जंगलतिर घुम्न निस्केका थिए । त्यसबेला देशमा माओवादी द्वन्द्वको समय थियो । तर जंगलमा प्रहरीको तालिम भइरहेकोले उनीहरुले नजान भनेपछि उनीहरु घर फर्कंदे थिए । त्यसैबेला उनीहरुले खोला छेउबाट लुकेर जंगल  पस्न लागेकी एउटी केटीलाई देखे । प्रहरीले उनीहरुलाई पहिल्यै नै सचेत गराइसकेकाले केही नराम्रँे हुने ठानी उनीहरुले ति केटीलाई  रोक्न खोजे । ‘त्यता नजाउ, शसस्त्रको तालिम छ’ भन्दै उनीहरु रोक्न खोजे । नारायण भन्छन, ‘उनी किन जंगलतिर जान खोजिन् भन्ने हाम्लाई थाह थिएन, झुक्किएर वा थाह नपाएर होला मात्र भन्ने सोचेंका थियौं ।’ उनले रित्तो डोको पनि बोकेको हुँदा घाँस काट्न पो हिंडेकी हुन् कि भन्ने पनि उनीहरुले सोचेका थिए । तर पछि बुझ्दा कुरा अर्कै रहेछ ।

ओखलढुङ्गा घर भएकी उनी आफ्ना काका ढालबहादुर श्रेष्ठसँग नवलपरासीको माकर आएकी रहिछन् । काकाले यहाँ राखेर आफैंले पढाउने भनेर ल्याएका रहेछन् तर ल्याएपछि उनले भने अनुसारको गरेनछन् । उनकी काकीले धनमायाँलाई खाली काममा मात्र लगाउन, पढ्न नपठाउने गर्न थालिछन् । घरका साना–ठूला सबै कामहरु अह«ाउनेदेखि लिएर जंगलमा गएर घाँस–दाउरा समेत ल्याउनुपर्ने रहेछ । त्यसो नगरे खाना नै खान नदिने पनि गर्दिरहिछन् । त्यो दिन पनि जसरी  पनि घाँस ल्याउनुपर्ने रहेछ उनलाई नत्र खाना नै खान नपाइने भनेकी रहिछन् काकीले । र, सबैभन्दा नराम्रो कुरा त केही काम भएन भने घरमै थुनेर नि राख्दा  रहेछन् ।

त्यसपछि उनहरुले त्यस्तो बाल अधिकार विरुद्धको कामको लागि केही गर्नुपर्ने आवश्यकता महसुस गरे । आफ्नो बाल क्लबमा आएर बैठक गरे । महिला समूहका सदस्यहरुसँग सल्लाह गरे । पारालिगर कमिटीलाई जानकारी दिए । बाल क्लबको त्यही पहलका कारण धनमायालाई त्यो घरबाट छुटाएर त्यहीँकी स्थानिय महिला विष्णु पौडेलले ३ महिनासम्म आफ्नो घरमा राख्नुभयो । बाल क्लबले सबै कुराको बेलिबिस्तार लगाएर धनमायाँका बाबु गंगानारायण श्रेष्ठलाई चिठी पठाए । अहिले धनमाया आफ्नो घर ओखलढुङ्गामा पढ्छिन् भने यता ढालबहादुरलाई अब पनि त्यस्तो गरे प्रहरीलाई जानकारी दिने कागजमा बाल क्लबले हस्ताक्षर गराई माफी माग्न लगायो ।

संगठनिक प्रकृया र प्रकाशनमा अगाडि

जागृति बाल क्लब– नेपाल, प्रगतिनगर

जागृति बाल क्लब–नेपाल नेपालमा दर्ता भएको पहिलो बाल क्लब हो । बाल अधिकार महासन्धिको धारा १५ अनुसार बालबालिकाले पनि अन्य सरह जिल्ला प्रशासन कार्यालयमा  संस्था दर्ता गर्न पाउनुपर्छ भन्ने सवोच्च अदालतमा मुद्दा हालेर अन्ततः सफल भएको कारण यस बाल क्लबलाई धेरैले सजिलै चिन्ने गर्छन् ।
यस बाल क्लबको अर्को विशेषता भनेको संगठनिक प्रकृया निरन्तर संचालन गर्नु हो । बाल क्लबहरुको सङ्ख्या बढिरहने तर पुस्ता हस्तानतरणमा समस्या देखिने प्रशंग आजकल जताततै चल्नेगर्छ । तर जागृति बाल क्लब भने यस मामिलामा स्पष्ट छ । प्रत्येक २ बर्षको अन्तरालमा साधारण सभा गर्ने गर्छ जसमा बर्षभरका गतिविधिहरु समेटेर ‘सांगठनिक प्रतिवेदन’ र आर्थिक लेखाजोखा समेटेर ‘आर्थिक प्रतिवेदन’ पनि तयार पार्छ जसको बोधार्थ स्थानिय सामाजिक संस्थाहरु, गाबिस र विद्यालयहरुमा पनि पठाउने हुँदा प्रगतिनगरमा बाल क्लबलाई विशेष महत्व दिनेगर्छन् । 

अर्कोतर्फ स्थापना कालदेखि नै ‘बाल इन्द्रेणी’ भित्ते पत्रिका निकान्ने काम थालेका उनीहरुले पछिल्लो समयमा भने बाल इन्द्रेणी बाल म्यागेजिनको ९ वटा अंक नै निकाली सकेका छन् । जसले गर्दा आफूहरुमा धेरै सिर्जनशील सीप विकास भएको बाल क्लबका सदस्यहरु ठान्छन् ।

This is the part of research I did for unicef and District child Welfare Board, Nawalparasi

2 comments:

  1. Mahesh Sharma, PokharaDecember 15, 2010 at 8:21 AM

    tapai pani child club ma hunuhunthyo ra ?

    ReplyDelete
  2. yes mahesg je. u can read more at http://blog.pradeepbasyal.com.np/search/label/Journalist

    ReplyDelete