Sunday, June 27, 2010

पढ्दैलेख्दै दृष्टिविहीन

“एसएलसीको जाँच दिँदा हामी आँफै लेख्न पाउँदैनौं र कतिपय कुरा हाम्रो उत्तर लेखिदिने ९ कक्षाका साथीले नबुझिदिँदा हामीले चाहेको जती नम्बर ल्याउन सक्दैनौं”

गुल्मीकी सिर्जना ढकाल अहिले कक्षा ४ मा पढ्छिन् भने स्याङजाका सागर सुवेदी कक्षा १० मा पढ्छन् । उनीहरुले लेख्ने कापी र पढ्ने किताब अरुको भन्दा भिन्न छ । बेग्लै रुपमा तयार पारिएको ब्रेल लिपीअनुसार उनीहरु लेखपढ गर्छन् । सिर्जना र सागरजस्ता ३८ दृष्टिविहीन बालबालिकाहरु अहिले रुपन्देहीको मणिग्राममा रहेको श्री शान्ति नमूना मा.बि. को बिभिन्न कक्षामा पढिरहेका छन् ।

२०४६ सालमा बिद्यालयकी शिक्षिका राधिका गैरेले ब्रेल लिपी अनुसार पढाउने तालिम लिएपछी यहाँ दृष्टिविहीनलाई पढाउन थालिएको हो । “शुरुमा २ जना दृष्टिविहीनलाई खोजेर पढाउन थालेकी थिएँ तर पछी यो सङख्या बढ्दै गयो ।”– राधिका गैरेले बताउनुभयो । ८ जना केटी र ३० जना केटा रहेको यहाँ अधिकाँशले कत्तिपनि देख्दैनन् भने केहीले निकै मधुरो देख्छन् । उनीहरु सबैलाई नेपाल सरकार र अन्धा कल्याण संघले छात्रवृति स्वरुप आर्थिक सहयोग प्रदान गर्दै आएका छन् भने जापान सरकारले होस्टल भवन बनाएर उनीहरुलाई बस्ने ब्यावस्था मिलाइदिएको छ । यस होस्टलमा पर्वत, अर्घखाँची, गुल्मी, कपिलबस्तु , स्याङज्या, पाल्पा, नवलपरासी, रुपन्देही लगायतका जिल्लाबाट पढ्न आएका बिद्यार्थीहरु छन् ।

दृष्टिविहीन बिद्यार्थीहरुलाई शुरुमा ब्रेल सिकाएर मात्र पढ्न पठाइन्छ । “उनीहरु अन्य साधारण(देख्न सक्ने) बिद्यार्थीहरुसँग बसेर पढ्ने गर्छन् र केही नबुझेमा मात्र आफ्ना स्रोत शिक्षकहरुलाई सोध्ने गर्छन् । ”– शान्ति दृष्टिविहीन स्रोत केन्द्रका स्रोत शिक्षक कृष्ण के.सी.ले बताउनुभयो । सबैसँग सँगै बसेर छलफल गर्ने र नबुझेका कुराहरु निर्धक्क शिक्षकहरुलाई सोध्ने बानीले गर्दा उनीहरु पढाई र अन्य अतिरिक्त कृयाकलापमा तेजिला छन् । हालसम्म यहाँबाट ४ चरणमा गरेर १३ जनाले एस.एल.सी. दिएकोमा सबै प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् । यसपटक ३ जनाले एस.एल.सी.को तयारी कम्मर कसेर गरिराखेका छन् । उनीहरु पनि कक्षामा निकै तजिला मध्येका हुन् । अझ एकताका त एकजना बिद्यार्थीले एस.एल.सी.मा ७७ प्रतिसत ल्याएर सबैलाई छक्क पारिदिएका छन् । परार सालको एस.एल.सी.मा दृष्टिविहीन छात्र रवि पौडेलले साधारण बिद्यालयतर्फ गणित बिषयमा जिल्ला प्रथम पनि भएका थिए । “एस.एल.सी.को जाँच दिँदा हामी आँफै लेख्न पाउँदैनौं र कतिपय कुरा हाम्रो उत्तर लेखिदिने ९ कक्षाका साथीले नबुझिदिँदा हामीले चाहेको जती नम्बर ल्याउन सक्दैनौं”–एस.एल.सी.को तयारी गरिराखेका निर्मल पौडेलले गुनासो पोखे । उता सागर सुवेदीलाई भने ज्यामेतीका चित्रवाला प्रश्नहरु पूरै छाड्नुपर्ने बाध्यताले पीरोलिराखेको छ । त्यसैगरी आफूहरुलाई प्राप्त हुने ४ घण्टाको समय नपुग्ने उनीहरुको साझा समस्या हो ।

उनीहरु भविष्यमा ठूला मान्छे बन्ने लक्ष्य बनाइसकेका छन् । निर्मल पौडेल र सिर्जना ढकाललाई संगित क्षेत्रमा लाग्ने धोको छ भने बिना कुँवर भोजराज पाण्येलाई शिक्षक बन्ने । उता उमा चौधरी कलाकार बन्न चहान्छीन् भने सागर सुवेदी कम्प्युटर क्षेत्रमा लागेर अपाङ्गलाई सहयोग पुग्ने सफ्टवेयर बनाउने धोको छ । “बिद्यालय भित्र र बाहिर हुने कार्यक्रममा उनीहरु सकृय सहभागि हुन्छन् ।”–बिद्यालयका प्र.अ. दिलिन सिंह थापा बताउनुहुन्छ । “अझ एकपटक त देशब्यापी हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएर यिनीहरुले जिल्लाकै इज्जत राख्न सफल भए ।”–थापाले गर्वसाथ बताउनुहुन्छ ।

सरकार र सम्बन्धीत निकायहरुले उनीहरुलाई प्रयाप्त चासो नदिँदा उनीहरुलाई केही दुःख लागेको छ । “हामीलाई देशको दास्रो दर्जाको नागरिकाको रुपमा नहेरियोस् ”– २०६० सालमा त्यहीबाट एस.एल.सी. उत्तिर्ण गरि अहिले त्यही पढाउँदै गरेका दृष्टिविहीन शिक्षक टिकाराम भुसालले बताउनुभयो । उनीहरुको पढाइप्रतिको उत्साह र चासोले गर्दा मेडम तारा अर्याल र राधिका गैरे पनि निकै खुसी हुनुहुन्छ । “शुरुमा पढाउन सकिन्न कि जस्तो पनि लागेको थियो ”–तारा मेडमले भन्नुभयो । “हामीहरुलाई होस्टलमै राखेर पढाउन आवश्यक पर्ने सेवा÷सुविधा सरकारले दिनुपर्छ ”–टिकारामले भन्नुभयो । उनीहरु भविष्यमा जुन क्षेत्रमा लागे पनि समाजको सेवा गर्ने उद्देश्य बोकेका छन् ।

(It was first published on Kopila-KANTIPUR)

1 comment:

  1. Greetings from USA! I love your blog.
    Please visit me at:
    http://blog.sina.com.cn/usstamps
    Thanks!
    -Tong

    ReplyDelete